चितवनमा हात्ती मर्न थालेपछि स्वास्थ्य परीक्षण सुरु


 


चितवन, फागुन १९
चितवनमा हात्ती मर्न थालेपछि यहाँका ११६ वटाको हात्तीको स्वास्थ्य परीक्षण सुरु भएको छ । प्राकृतिक र रोगको कारण चालू आर्थिक वर्षमा पाँचवटा हात्ती मरेपछि समस्या पत्ता लगाउन स्वास्थ्य परीक्षण सुरु गरिएको हो । सरकारी र निजी गरी ११६ वटा हात्तीको स्वास्थ्य परीक्षण गरेर अवस्था पत्ता लगाउने प्रयास भएको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक विजय श्रेष्ठले जानकारी दिए ।

तीनवटा हात्ती वृद्ध भएर मृत्यु भएको र बाँकी हात्तीको मृत्युको कारण अझै पत्ता नलागेकाले श्रेष्ठले जानकारी लिए । निकुञ्जका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोस्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोस्टको शङ्करप्रसाद नाम गरेका हात्ती मरेका छन् । तत्पश्चात चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले संयुक्त रूपमा दुई हप्ते उपचार शिविर सुरु गरेको हो ।

शविर सञ्चालन भएको पहिलो दिन प्रजनन केन्द्रमा रहेका ११ वटा माउ र नौवटा छावाको उपचार सुरु गरिएको पशु चिकित्सक अमिर सडौलाले जानकारी दिए । हात्तीलाई जुकाको औषधि, खुट्टाको नङ काट्ने, रगत परीक्षण गरिने उनले बताए । निकुञ्जका सबै पोस्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गरिने छ । अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि हात्तीको स्वास्थ्य जाँच सुरु गरिएको हो ।

हाल निकुञ्जमा ५६ वटा हात्ती रहेका छन् । छवटा कोसीटप्पु वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि यही काम गरिरहेका छन् । निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्छन् । त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालिमपछि काममा पठाउने गरिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्