अस्पताल चहार्दै कोरोना संक्रमित महिलाको मृत्यु




विराटनगर, वैशाख ६
विराटनगरमा अस्पताल चहार्दा–चहार्दै एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । महिलालाई समयमै अस्पतालले भर्ना नलिएका कारण उदयपुर, गाईघाटकी ३५ वर्षीय जैनव खातुनको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई सोमबार बिहान विराटनगर ल्याएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिँदै विराटनगरका सुविधासम्पन्न अस्पतालसम्म ल्याइएकी उनी अस्पतालले भर्ना नलिँदा अलपत्र परेकी थिइन् ।

अस्पतालले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि भर्ना गर्न नमानेको परिवारजनको भनाइ छ । भर्नाका लागि विभिन्न अस्पताल चहार्दा चहार्दै उनको मृत्यु भएको एम्बुलेन्स चालक राजा मियाँले बताए ।

मियाँका अनुसार उदयपुरबाट राति करिब ३ बजे उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो । सो अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई विराट मेडिकल कलेज लगेकोमा सो अस्पतालले पनि भर्ना लिन नमानेको मियाँले बताए ।

त्यसपछि बिरामीलाई आफन्तले कोशी अस्पतालमा भर्ना गराए । आइसोलेसनमा राखेको केही समय उपचार नभएपछि आफन्तले नोबेल मेडिकल कलेज लिएर गएको र एन्टिजेन पोजेटिभ केस भएको जानकारी पाएपछि नोबेलले पनि भर्ना गर्न नमानेको उनको भनाइ छ ।

आफन्तले बिरामीलाई पुनः कोशी अस्पतालमै ल्याएको र बिहान करिब साढे ६ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।

महिलालाई एन्टिजेन पोजेटिभ देखिएको थियो । जसले गर्दा उनीमा अक्सिजनको लेभल निकै कम थियो । बिरामीको मृत्यु भएपछि आफन्तले शव घर लिएर गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News