हत्या आरोपमा चार पक्राउ



सप्तरी, जेठ १०
रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ ।

धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । गाउँपालिकास्थित युनिक अस्पतालले रेफर गरेपछि रामदललाई उपचारका लागि बिहीबार विराटनगर लगिएको थियो । मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितले बुधबार राति धारिलो हतियारले निर्घात कुटपिट गरेको भन्दै रामदलका दाजु सरोवर यादवले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका हुन्।

पक्राउ परेका आरोपितले गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग गत बुधबार दिउँसो झगडा गरेको र सोही निहुँमा राति कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको सरोवरले बताए । पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटकपटक पक्राउ परेको स्थानीयवासीले जानकारी दिएका छन् । चिकित्सकले आज मृत घोषणा गरेपछि शवपरीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News