कोरोनाविरुद्धको अवैध खोप ५ हजारमा बिक्री, कालोबजारीमा संलग्नमाथि कारवाही गर्न माग



काठमाडौँ, असार १३
राष्ट्रिय उपभोक्ता मञ्चले नेपालको पूर्वी नाकाबाट कोरोनाविरुद्धको खोप (कोभिशिल्ड) अवैध रुपमा भित्र्याएर लुकिछिपी चर्को मूल्यमा विक्री गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । यसरी अवैध रुपमा भित्र्याइएको खोप ३ देखि ५ हजार रुपैयाँसम्म बिक्रीवितरण भइरहेको सूचना आएको मञ्चको भनाइ छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरुले समयमा दोश्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा अवैध रुपमा भित्र्याएर कालोबजारी हुन थालेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

सरकारी निकायबाटै खोपहरू गायब भएको आश्चर्यजनक समाचारहरु आइरहेको बेलामा केही अनुचित व्यापारिक कृयाकलाप गर्ने, जनस्वास्थ्यमाथि खोलवाड गर्ने भ्रष्ट मनस्थितिका व्यक्तिहरुले यस प्रकारको धन्दा गर्न थालेको मञ्चको आरोप छ । ‘सरकारी संयन्त्रबाट नै खोप गायव भएको समाचार र भारतको बंगालमा नक्कली कोभिशिल्डको बजारमा बिक्री भइरहेको समाचारलाई विश्लेषण गर्दा यसमा सरकारको सक्रियता र सजगतामा कमी देखिएको छ,’ मञ्चले विज्ञप्तिमा भनेको छ ।

मञ्चले सर्वसाधारण जनताको जनस्वास्थ्यमाथि खेलबाड भइरहेकोमा सरकारको ध्यानाकर्षण गर्दै तत्काल यसबारे सम्बन्धित सरकारी निकायबाट अध्ययन, अनुसन्धान तथा छानविन गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने वा मानव स्वास्थ्यमा खेलबाड गर्नेविरुद्ध कडाभन्दा कडा कारवाहीको माग गरेको छ ।

भारतबाट आयात भएको कोभिसिल्डको खोप लाउने काम गत फागुनको पहिलो हप्ताबाट सुरु भएकोमा सोह्र हप्ताभित्र दोश्रो डोज खोप लाउनुपर्ने भनेता पनि सरकारको अकर्मण्यता एवं असक्षमताका कारण अहिलेसम्म खोप कहाँबाट आउँछ र कहिलेबाट खोप लाउन सुरु हुन्छ भन्ने पनि ठेगान नभएको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News