यात्रुसँग बढी भाडा लिएको आरोपमा आठ जना पक्राउ



काठमाडौं, असार १६
यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६ जनालाई नयाँ बसपार्कबाट र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहामगर, रूपन्देहीका ३६ वर्षीय दीपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन् । नयाँ बसपार्कबाट नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ ।

यस्तै काठमाडौंबाट बा १६ च २१८४ नम्बरको निजी गाडीमा उदयपुरसम्म लैजान भनी यात्रुसँग भाडा लिएको आरोपमा कोटेश्वरबाट उदयपुरका २९ वर्षीय राकेश रसाइली पक्राउ परेका छन् । उनले प्रतियात्रु तीन हजार रूपैयाँका दरले भाडा लिएको पाइएको एसएसपी भट्टराईले बताए ।

यसैगरी चावहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रतिव्यक्ति ५ हजारसम्म भाडा लिएको पाइएपछि २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ । घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको पाइएपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा बुझाइएको छ ।

निषेधाज्ञापछि हालसम्म उपत्यका बाहिर जाने यात्रुसँग आठ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने ६१ जना काउण्टरका कर्मचारीहरुलाई पक्राउ गरी कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाले तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News