नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने


 


काठमाडौं, साउन १६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ । डा. पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड पनि विस्तार गर्न लागेको जानकारी दिए ।

उनले देशभर थप एक हजार चार सय एचडीयू बेड विस्तार गर्न लागिएको बताए । हाल देशभरका सरकारी अस्पतालहरूमा दुई हजार ७५ र निजी क्षेत्रका अस्पतालमा ७७८ एचडीयू बेड सञ्चालनमा रहेका छन् । पौडेलले भेन्टिलेटरहरूको सङ्ख्या ९०४ पु¥याइएको र १८० थप्न लागिएको जानकारी दिए । कोरोना सङ्क्रमितको उपचारमा अत्यावश्यक पर्ने मेडिकल अक्सिजनको आपूर्ति सुदृढ गर्नका लागि सरकारले पाँच हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर ल्याइसकेको जानकारी दिए ।

यस्तै तीन हजार पाँच सय अक्सिजन कन्सन्ट्रेटर आउने क्रममा रहेको जानकारी गराए । डा. पौडेलले छ हजार ३७७ अक्सिजन सिलिन्डर थप गरिएको बताए । यस्तै १९ वटा अक्सिजन प्लान्ट, २७ वटा अक्सिजन ट्याङ्क थप गर्ने योजनाअन्तर्गत दुईवटाको कार्य सम्पन्न गरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति: १६ श्रावण २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्