लुम्बिनीमा बढ्यो चलखेल : सांसद विमला माओवादीको सम्पर्कमा आइनन्, एमालेमा प्रवेश गरेको आशंका


 


बुटवल, साउन १६
नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको बताइएको छ। प्रदेश सांसद वली ३ दिनदेखि सम्पर्कमा नआएको माओवादी केन्द्रले जानकारी दिएको छ।

पार्टीको शनिबार बस्ने भनिएको संसदीय दलको बैठकमा बोलाउन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताएका छन्।

माओवादीको सम्पर्कमा नआएपछि उनी एमाले प्रवेश गरेको आशंका गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला उनी शंस्कास्पद तरिकाले सम्पर्कविहीन हुनुले वलीले एमाले रोजेको हुन सक्ने बताइएको छ। माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताए।

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन्। विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन। दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन्।

एमालेले भने विमला पार्टीको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा सहभागी भएको भन्दै विमलाले माओवादी केन्द्र रोज्न नपाउने जिकीर गर्दै आएको छ। गत वैशाख १९ गते उनले पत्रकार सम्मेलन गरेर आफूले स्वेच्छाले माओवादी रोजेको घोषणा गरेकी थिइन्। प्रदेश सभा बैठकमा पनि उनी माओवादी केन्द्रकै लहरमा बस्दै आएकी थिइन्।

प्रकाशित मिति: १६ श्रावण २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्