माधव नेपाललाई धक्का : ५७ जना एमाले एकताकै पक्षमा


 


काठमाडौं, भदौ ५
विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन् ।

उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने भएका छन् ।

५७ केन्द्रीय सदस्य र सांसदको भेलाले १० बुँदे सहमति तत्काल कार्यान्वयनमा जोड दिँदै माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह गरेको छ । भेलाको निर्णयबारे जानकारी दिँदै एमाले उपाध्यक्ष रावलले एकता प्रयत्न जारी राख्ने बताए ।

उनले १० बुँदे सहमति तत्काल लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको बताए ।

‘१० बुँदे सहमति व्यवहारमा तत्काल कार्यान्वयन हुनुपर्छ। पार्टी अलग खोल्न प्रक्रिया रोक्नुपर्छ। उनीहरूमाथि भएको कारबाही खारेज हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ उनले भने। आन्तरिक विवादको पार्टीभित्रै समाधान खोजिनु पर्ने निश्कर्ष आफूहरूको रहेको उनले बताए।

उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न माग राखे। ‘यो अध्यादेशले राजनीतिक अस्थिरता ल्याउँछ र लोकतन्त्रलाई प्रहार गर्छ’, उनले भने। रावलले एकताका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने पनि बताए ।

केन्द्रीय सदस्य निरज आचार्यले भेलाले नेताबीच एकआपसमा आक्षेप लगाउने, चरित्र हत्या गर्नेजस्ता कार्य रोक्न र संयमित रहन आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए।

प्रकाशित मिति: ५ भाद्र २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्