श्रीमतीमाथि एसिड छ्याप्ने श्रीमानलाई जेल
जनकपुरधाम, साउन ११
जिल्ला अदालत धनुषाले श्रीमतीमाथि एसिड छ्याप्ने श्रीमानलाई जेल सजाय सुनाएको छ । बिहीबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले एसिड छ्याप्ने श्रीमान सञ्जीव साहविरुद्ध साढे १० वर्ष कैद र साढे ६ लाख रुपैयाँ जरिबाना हुने फैसला सुनाएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–७ स्थित डेरामा बस्दै आएकी आरती र छोरी रियामाथि उनका श्रीमान सञ्जिवले ०७७ कार्तिक २७ गते दीपावलीको दिन एसिड छ्यापेका थिए ।
अधिवक्ता रिंकुकुमारी यादवका अनुसार अपराध संहिताको दफा १०४ को उपदफा २ बमोजिम सबैभन्दा कडा सजाय भएको छ । जरिबाना भएको रकम पीडित आरतीले पाउने अधिवक्ता साहले बताइन् ।
एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायत शरीरको १५ प्रतिशत भाग जलेको छ । एसिड आक्रमणमा परी उनकै छोरी रियाको दाहिने हात र टाउकोमा गहिरो खत बसेको छ ।
गत साउन २६ गते एसिड छ्याप्ने सञ्जीवलाई जिल्ला अदालतले दोषी ठहर गरी आज सजाय निर्धारण गरेको थियो। सञ्जीवलाई एसिड बेच्ने व्यवसायी नागेन्द्रलाई भने अदालतले सफाइ दिइएको छ ।