मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, बाढी र पहिरोको खतरा बढ्यो



काठमाडौं, साउन ११
नेपालमा फेरि मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा बढेको जनाएको छ ।

मौसमविद्का अनुसार यसपटक तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको छ ।

पहाडका केही भूभागमा पनि भदौरे झरीसहितको भारी वर्षा हुने सम्भावना छ । त्यसले बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले सतर्क रहन भनिएको छ । गण्डकी, बागमती तथा सुदूरपश्चिमका पहाडी भेगमा भारी वर्षाको आकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयताको मनसुनी सक्रियताले देशका धेरै स्थानमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड भएको छ ।

यस्तै भदौरे झरीका कारण कोसी, नारायणीलगायतका ठूला तथा साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । त्यस्तै पहाड हुँदै बग्ने कर्णाली, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीलगायतका नदीको बहाव पनि सतर्कता तहभन्दा माथि हुने जनाइएको छ ।

तराई छोएका कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, राप्ती, बबईलगायतका ठूला नदीमा बहाव बढ्दा त्यहाँका बस्ती डुबानमा पर्ने सम्भावना रहेको औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News