संविधान दिवसमा ९०३ जनालाई मानपदवी र विभूषण


 


काठमाडौं, असोज ३
सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिनेछ ।

यसैगरी, राष्ट्रगौरवका रूपमा रहेको पदवी यसपटक पूर्वप्रधानमन्त्री झलनाथ खनाल र स्वर्गीय सुवर्ण शमशेर जबरालाई प्रदान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान र विष्णु माझी, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा. शेरबहादुर पुन र डा. रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको हो ।

निजामती, जंगी, प्रहरी र सशस्त्र प्रहरी क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका कर्मचारी, प्रहरी र सेनाका उच्च पदस्थहरूलाई पनि विभिन्न पदवीले विभूषित गरिने भएको छ ।

यसैगरी, विभिन्न सामाजिक संघसंस्थामा रहेकालाई पनि विभूषित गरिन लागिएको छ । हरेक वर्ष संविधान दिवसका दिन ३ असोजमा विभूषण पाउनेहरूको नाम सार्वजनिक गरिँदै आएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्