सात औषधि पसल कारबाहीमा


 


काठमाडौं, असोज ४

सात औषधि पसल निलम्बनको कारबाहीमा परेका छन्। औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गरेर साउनभित्र कारबाहीमा परेका पसलहरूको सूची सार्वजनिक गरेको हो।

कारबाहीमा पर्ने औषधि पसलहरूमध्ये काठमाडौंका प्रवीण मेडिकल हल, नूतन फर्मा, चौलागाईं फर्मा, सर्वोच्च मेडिकल हल र ग्रिसा फार्मेसी छन्। ललितपुरको प्राकृतिक हर्वास्युटिकल्स प्रालि र पर्साको श्री भाजुरत्न फर्मा प्राइभेट लिमिटेड पनि हुन्। यी औषधि पसललाई ३० दिन निलम्बन गरिएको विभागले जनाएको छ।

अनुमतिपत्र नवीकरण नगरेका भारतीय कम्पनीको औषधि आयात गरेकाले भाजुरत्न फर्मालाई निलम्बन गरिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए। उनका अनुसार बाँकी ६ वटा औषधि पसललाई भने तालिम तथा शैक्षिक योग्यता नभएका व्यक्तिलाई औषधि बिक्रीवितरणमा राखेका कारण कारबाही गरिएको हो।

दक्ष जनशक्तिबिना औषधी बिक्री गर्नु भनेको ठूलो अपराध भएकाले सरकारले अनुमति दिएका र तालिम प्राप्त दक्ष जनशक्तिलाई मात्र बिक्रीवितरणमा खटाउनुपर्ने केसीको भनाइ छ। ‘तालिम तथा अध्ययन नगरेका व्यक्तिलाई औषधि बिक्रीमा खटाउँदा एउटा औषधिको सट्टा अर्को दिएर स्वास्थ्यमा गम्भीर असर हुने खतरा हुन्छ, यो ठूलो अपराध हो,’ उनले भने ।

नेपालमा यस्तै गैरकानुनी काम गर्ने करिब ३ सय औषधि पसल कारबाहीमा परिसकेको विभागले जनाएको छ। एकपटक निलम्बनमा परेका औषधि पसलहरूले पटकपटक यस्तो गैरकानुनी काम गरे औषधि बिक्रीको अनुपमतिपत्र नै खारेज गर्नेसम्मको कारबाही विभागले गर्ने प्रवक्ता केसीले बताए।

नेपालमा पटकपटक यस्ता पसललाई कारबाही गरे पनि यस्ता अपराध भइरहेको प्रवक्ता केसीले बताए। कारबाही गरे पनि औषधि ऐनमै भएको कमीका कारण यस्तो गैरकानुनी कार्यले निरन्तरता पाएको उनको भनाइ छ ।

प्रकाशित मिति: ४ आश्विन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्