कर्णाली प्रदेशमा कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने माओवादीको निर्णय


 


सुर्खेत, कार्तिक ७
नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको हो ।

बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने समेत निर्णय गरेको हो ।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत वैशाख २ गते नेपाली कांग्रेस, माओवादी र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह -हालको एकीकृत समाजवादी) बीच ११ बुँदे सहमति भएको थियो ।

कांग्रेसले पूर्व सहमति अनुसार सरकारको नेतृत्व दाबी गर्ने बताएको छ तर मुख्यमन्त्री शाही भने उक्त सम्झौता कार्यान्वयन नगर्ने र बाँकी अवधि आफैंले प्रदेश सरकारको नेतृत्व गर्ने गृहकार्यमा जुटेका छन् ।

मुख्यमन्त्री शाहीकै प्रस्तावमा विस्तारित बैठकले हालको सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने गरी गठबन्धन दलबीच सहमति जुटाउन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री बन्ने पर्खाइमा रहेका कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले भने वैशाख २ को लिखित समझदारी विपरीत माओवादी गए कांग्रेसले साथ नदिने बताए ।

कर्णालीमा भएको सहमति केन्द्रीय गठबन्धनको जग भएकाले त्यसलाई अक्षरशः कार्यान्वयन गरिनुपर्ने नेता शाहीले बताए ।

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्