१५ न्यायाधीशको बटमलाइन प्रधानन्यायाधीश राणाको राजीनामा, आज पनि बैठक बस्दै


 


काठमाडौैं, कार्तिक १०
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वाेच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ । न्यायालयमा देखिएको अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो । न्यायाधीशहरूले जबराले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिइसकेका छन् ।

मंगलबारको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार छलफलमा जुट्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने न्यायाधीशले अडान लिएका छन् ।

मंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामूहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए ।

जबराले राजीनामा नदिने बताएपछि न्यायाधीशहरू छलफलमा जुट्दै आएका छन् ।

१५ न्यायाधीशमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।

प्रकाशित मिति: १० कार्तिक २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्