जबराविरुद्ध झन् कडा



काठमाडौं, कार्तिक १७
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव न्यायाधीश र कानुन व्यवसायीले अस्वीकार गरेका छन्। उनीहरूले राजीनामा नै सम्मानजनक बहिर्गमन भएको अडान लिएका छन्। प्रधानन्यायाधीश जबराले मंगलबार सर्वोच्च अदालतमा १० वटा मुद्दाको पेसी तोके पनि असन्तुष्ट न्यायाधीशले इजलास बहिष्कार गरेका छन्। उनीहरूले सोमबार भने ६ वटा बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरेका थिए।

‘सम्मानजनक ढंगले बहिर्गमनको प्रस्तावपछि हामी लचक भएका थियौं। बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्‍यौं’, एक न्यायाधीशले भने, ‘तर, हाम्रो लचकतालाई कमजोरी सम्झेपछि इजलासमा सहभागी नहुने निर्णय गरेका हौं।’

प्रधानन्यायाधीश र असन्तुष्ट न्यायाधीशका तर्फबाट गठित वार्ता टोलीबीच विश्वासको संकट बढेको छ। न्यायाधीश अनिलकुमारर सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मासँगको छलफलमा प्रधानन्यायाधीश जबराले केही महिना अदालतमै रहेर सम्मानजनक बहिर्गमन हुने प्रस्ताव गरेका थिए।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब पदबाट राजीनामा नै सम्मानपूर्वक बहिर्गमन हुने बताए। ‘समयमै राजीनामा गरे न्यायापालिकाको मर्यादा रहन्छ। न्यायाधीश र कानुन व्यवसायिको पनि हित हुन्छ’, अध्यक्ष श्रेष्ठले अन्नपूर्ण पोस्ट्सित भने, ‘उहाँ (प्रधानन्यायाधीश)ले न्यायपालिकाभित्रको विकृति र विसंगति हटाउन सक्नुभएन।’

नेपाल बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा गर्न दिएको पाँच दिनको अल्टिमेटम बुधबार सकिँदै छ। कानुन व्यवसायीले जबराविरुद्ध सर्वोच्च अदालत परिसरमा मंगलबार पनि कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। उनीहरूले पहिलो चरणको विरोध कार्यक्रम कात्तिक १४ गते सुरु गरेका थिए।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नगरेसम्म आन्दोलनलाई अझ कडा बनाउँदै निरन्तरता दिइने बताए। ‘राजीनामाका लागि दिइएको अल्टिमेटम बुधबार सकिँदै छ’, अध्यक्ष श्रेष्ठले भने, ‘त्यसपछिका विरोध कार्यक्रम पनि तय गर्दै छौं। अल्टिमेटमको अन्तिम दिनसम्म पनि राजीनामा नआए थप सशक्त आन्दोलन गर्छौं।’

दोस्रो चरणको विरोध कार्यक्रम तय गर्न बारको कार्यसमिति बैठक बुधबार बस्ने भएको छ। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सम्मानजनक बहिर्गमनबारे जबराले कानुन व्यवसायीलाई जानकारी नदिएको बताए। ‘अन्तिम दिनसम्म पनि राजीनामा आएन भने आन्दोलनको कार्यक्रम अझ सशक्त रूपमा अघि बढ्छ’, अध्यक्ष शाक्यले भने। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News