प्रधानमन्त्री नभए पनि सरकारमा बलियो नै छु : प्रचण्ड
काठमाडाैं, मंसिर २
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि शक्तिशाली नै रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले फू प्रधानमन्त्री नभए पनि अहिलेको सरकारमा बलियो नै भएको अभिव्यक्ति दिएका हुन् ।
उनले भने, ‘गठबन्धन सरकारमा म बलियो नै छु । म प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएको छु । त्यसकारण म सरकारमा बलियो नै छु ।’ प्रदेश २ मा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको लागि आफूले पहल गर्न सक्ने भन्दै उनले सरकारमा आफू बलियो नै भएको बताएका हुन् ।
रामगोपालपुर नजिकै ३३ बिघा जग्गा अलपत्र अवस्थामा रहेको र त्यसमा परियोजना बनाउनको लागि आफूले पहल गर्ने बताउँदै उनले सरकारमा बलियो उपस्थिति रहेकाले त्यो काम आफूले गर्न सक्ने बताएका हुन् ।
समग्र मधेशमा सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको बताउँदै उनले मिटरव्याजीबाट पीडित किसानहरुले आफूलाई सबै कुराको जानकारी गराएको बताए । उनले तराई मधेशमा ऊर्जा र सिँचाइका लागि काम गर्ने पनि बताए । अर्थ, ऊर्जा, भूमिसुधार, स्वास्थ्य र खेलकुद मन्त्रालय माओवादी केन्द्रको भागमा परेको हुनाले मधेशमा विकासका कार्यक्रम ल्याउन कुनै समस्या नहुने उनले बताए ।
सम्बोधनको क्रममा नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपालको विकासको लागि अवरोधक र खलनायक भएको आरोपसमेत प्रचण्डले लगाए । मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनको लागि दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता गरेको तर एमालेले पारित हुन नदिएको भन्दै उनले केपी ओली मधेश विरोधी खलनायक भएको टिप्पणी गरे ।
‘संविधान संशोधन प्रस्ताव पारित हुन नदिने सबैभन्दा ठूलो खलनायक केपी ओली थिए,’ उनले भने । अझै पनि मधेशी जनताको पक्षमा संविधान संशोधनको लागि संघर्ष गरिरहने प्रचण्डले बताए । उनले भने, ‘संविधान संशोधनको लागि संसदमा मैले प्रधानमन्त्रीको हैसियतले दुई पटक दर्ता गरेको छु । त्यो पारित नभएसम्म म सिंहदरबारमा लडिरहन्छु । तपाईंहरु हेरिरहनुहोला ।’
नेपालमा राजनीति बिग्रिएको हुनाले धेरै कुरा बिग्रिएको र अहिले बिस्तारै राजनीति ट्रयाकमा आउन थालेको उनले बताए ।