काठमाडौं उपत्यकामा ४ हजार नाघे सक्रिय कोरोना संक्रमित



काठमाडौं, पौष २७
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार हाराहारी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकले सोमबार सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको जनाएको छ ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर रहेका छन् । काठमाडौं जिल्लामा २ हजार ६५५ जना सक्रिय संक्रमित रहेकोमा भक्तपुरमा ६३३ र ललितपुरमा ९ सय सक्रिय संक्रमित रहेको तथ्यांकले देखाएको छ । यी जिल्लामा कुल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार १८८ रहेको छ ।

त्यसैगरी २ सयभन्दा बढी सक्रिय संक्रमित संख्या भएका जिल्लाहरू सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

मृत्यु हुनेको संख्या २ जना रहेकोमा २५५ जना निको भएर डिस्चार्ज भएका छन् । २४ घण्टामा २ लाख १० हजार ५९४ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । हालसम्म कुल २ करोड ६१ लाख ९४ हजार ६ सय १६ मात्रा खोप लगाइएको छ ।

अहिलेसम्म कुल जनसंख्याको ४९.६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् भने ३६.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लक्षित जनसंख्याको ७५.६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् भने ५५.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले संक्रमण बढ्दै गएकोमा ओमिक्रोन नै हो भनेर ठ्याक्कै भन्न नसकिने बताए । ‘ओमिक्रोनले नै संक्रमण फैलाइरहेको हो कि होइन भन्ने कुरा अझै यकीन भइसकेको छैन किनभने बिचमा डेल्टा भेरिएन्ट पनि सँगसँगै थियो‚’ डा पुन भन्छन्‚ ‘भारतमा पनि संक्रमण बढेको छ तर धेरै संख्यामा ओमिक्रोन देखिएको छैन । अझै स्पष्ट भइसकेको छैन । डेल्टा र ओमिक्रोन सँगसँगै कुदिरहेको पो हो कि !’

डा पुनका अनुसार दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरिएन्टमा सामान्य जीउ दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने लक्षण थियो ।बेलायतमा पनि उस्तै उस्तै लक्षण‚ जस्तैः थकित हुने, नाकबाट पानी बग्ने, जीउ दुख्ने लक्षण देखिएका छन् । ‘ओमिक्रोनका लक्षण रुघाखोकीसँग धेरै मिल्दोजुल्दो छ । संक्रमण संख्या बढेको देखिए पनि अस्पतालमा बिरामी भर्नाको विश्लेषण गर्न जरुरी छ । बढिरहेको संख्या ओमिक्रोन नै हो भनेर अहिले नै भन्न गाह्रो छ,’ उनले भने ।

संक्रमणदर बढेसँगै तेस्रो लहरको संकेत देखिइसकेको उनी बताउँछन् । डा पुन भन्छन्‚ ‘अहिलेसम्म गरिएका अध्ययनले ओमिक्रोन छिटो फैलिए पनि डेल्टाभन्दा कम घातक भन्ने देखाएको छ । संक्रमितमात्र बढ्ने लहर हो कि अस्पताल भर्ना हुने अवस्था हो कि त्यो हेर्न जरुरी छ । आँत्तिनु, त्रसित हुनुभन्दा पनि सतर्क रहनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News