एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो


 


काठमाडौँ, माघ २
नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो।

यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। तर अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि तीनवटा मात्रै थप गर्ने गरी प्रस्ताव अघि बढाइएको हो। सरकारले पनि एआइजी तहमा तीनवटा दरबन्दी थप गर्न सकिने संकेत दिएपछि सोहीअनुसार प्रस्ताव गरिएको प्रहरी प्रधान कार्यालयसम्बद्ध स्रोतको भनाइ छ।

‘प्रहरी प्रधान कार्यालयले एआइजी तहमा दरबन्दी थप्ने प्रस्तावसहितको संगठन सुपरीवेक्षण तथा व्यवस्थापन ९ओएन्डएम० प्रतिवेदन गृह मन्त्रालयमा पठाएको थियो। सो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ, अबको केही दिनमा स्वीकृत हुन सक्छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने। यसअघि अर्थ मन्त्रालयले रोकेर राखेको दरबन्दी थप गर्ने प्रस्ताव प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै जोडबलमा अघि बढाइएको हो।

प्रहरी प्रधान कार्यालयले एआइजी र डिआइजी तहमा नयाँ दरबन्दी थपका लागि सिफारिस गरेको यो तेस्रो पटक हो। प्रधान कार्यालयले भदौ र कात्तिकमा पनि दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको थियो। सोही प्रस्तावअनुसार दरबन्दी थपका लागि बजेट स्वीकृत गर्न गृहले अर्थ मन्त्रालयमा सिफारिसपत्र पनि पेस गरेको थियो।

उतिबेलाको प्रस्ताव स्वीकृत नभएपछि अहिले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको हो। हाल नेपाल प्रहरीमा प्राविधिकसहित ६ एआइजी छन्। यो प्रस्ताव स्वीकृत भएमा एआइजी तहमा नौ दरबन्दी हुनेछन्।

पछिल्लो ओएन्डएमअनुसार नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक ९डिआइजी० ६ र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० तहमा थप १४ दरबन्दी सिर्जना गरिएको छ। ‘सुरुमा एआइजी तहमा पाँच, डिआइजी तहमा ६ र एसएसपी तहमा १४ दरबन्दी थप्नेबारे ओएन्डएम भएको थियो।

सरकारले एआइजी तहको हकमा तीनवटा मात्रै दरबन्दी स्वीकृत गर्ने संकेत गरेपछि त्यसैअनुसार अर्को ओएन्डएम गरिएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले प्रहरी प्रधान कार्यालयबाट धेरै विषयमा प्रस्ताव आउने भएकाले सबै आफूलाई जानकारी नहुने र दरबन्दी थप प्रस्तावबारे पनि जानकारी नभएको बताए।

‘नेपाल प्रहरीले धेरै प्रस्ताव पठाएको हुन्छ, सुरक्षा संगठन भएकाले दिनदिनै गृहमा काम हुन्छ तर दरबन्दी थप गर्ने वा नगर्ने भन्नेबारे मलाई जानकारी छैन,’ सहसचिव कोइरालाले भने।

स्रोतले दिएको जानकारीअनुसार डेढ साताअघि नै गृहमा पुगेको सो प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पठाइसकेको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिलेका लागि सातवटा प्रदेश हेर्नेगरी एआइजी थप्ने प्रस्ताव तयार गरिएको हो। हाल नेपाल प्रहरीमा प्राविधिकसहित एआइजी तहमा ६ दरबन्दी छन्। नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २ माघ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्