अनलाइनबाट एकैदिन ८५५ जना सेवाग्राहीले लिए पुनः श्रम स्वीकृति


 


काठमाडौं, माघ ३
वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन दिएपछि पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र थालिएको हो ।

वैदेशिक रोजगार कार्यालयमा अहिले विचौलियालाई निषेध गरिएको छ भने पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न थालिएपछि कार्यालयमा हुने भीड हटेको छ ।

आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सचिव एकनारायण अर्याल सहितको टोलीले कार्यालयमा अनलाइन प्रणालीबाट सुरु गरिएको पुनः श्रम स्वीकृति जारी गर्ने कार्यको अनुगमन गरेका छन् । सो क्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न निर्देशन दिए ।

सचिव अर्यालले सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको बताउँदै सेवा प्रवाहलाई सरलीकृत गर्नुपर्ने धारणा राखे । यसअघि श्रम स्वीकृति नवीकरणका लागि ४ चरणको व्यवस्थालाई २ चरणबाट सम्पन्न गर्ने गरिएको छ ।

कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । औसतमा कार्यालयबाट प्रति दिन १५ सय ६५ जनाको अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्