काठमाडौँका सीडीओसहित १८ कर्मचारीलाई काेभिड पुष्टि



काठमाडौं, माघ ५
कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । ‘१८ जनालाई कोभिड पुष्टि भइसकेको छ, १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण भएको छ,’ उनले भने, ‘सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेका छौँ ।’ काठमाडौं प्रशासनमा ६० जनाको दरबन्दी छ ।

त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

‘विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिकाबाहेक अत्यावश्यक सेवा हाललाई स्थगित गरिएको छ,’ विभागले सूचना जारी गर्दै भनेको छ । विभागका प्रवक्ता सरदराज आरनका अनुसार १५ जना कर्मचारीलाई कोभिड भएछि सेवा कटौती गर्नुपरेको हो । यसअघि बुकिङ भएका तथा टोकन लिएकाको हकमा पनि राहदानी वितरण कटौती गरिएको छ । आरनका अनुसार यसअघि दैनिक १ हजार २ सयसम्म राहदानी जारी हुन्थे तर हाल ६ सयमा झारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News