२० हजार प्रहरीको बढुवाका लागि बाटो खुल्यो



काठमाडौ, माघ ५
प्रहरी नियमावली संशोधन भई राजपत्रमा प्रकाशित भएपछि २० हजारभन्दा बढी कनिष्ट प्रहरी अधिकृतको एकैपल्ट बढुवाको ढोका खुलेको छ ।

सरकारले प्रहरी नियमावली–२०७१ संशोधन गरेर सोमबार राजपत्रमा प्रकाशित गरेपछि लामो समयसम्म बढुवा नभएर जागिर छोड्ने प्रवृत्तिमा कमी आउने प्रहरी प्रधान कार्यालयले दाबी गरेको छ ।

लामो समयदेखि एउटै पदमा कार्यरत रहँदा जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीले संगठनबाट राजीनामा दिएर अन्यत्र राम्रो अवसरको खोजीमा जुट्ने गरेका थिए ।

संशोधित नियमावली मंगलबारदेखि कार्यान्वयन आएपछि प्रहरी प्रधान कार्यालयले सोहीअनुरूपको कामको शुरुआत गरेको छ । मंगलबार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षकमा दुई जनाको बढुवा गरेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । बढुवा भएका दुवै अधिकृतले मंगलबारदेखि नै अनिवार्य अवकाशसमेत पाएका छन् ।

नेत्रबहादुर जर्घा र हेमबहादुर अधिकारी प्रहरी नायव निरीक्षकमा बढुवा हुनुभएको थियो । यदि संशोधित प्रहरी नियमावली कार्यान्वयनमा नआएको भए उहाँहरुले प्रहरी सहायक निरीक्षकबाट अनिर्वाय अवकाश पाउने प्रहरी प्रवक्ता केसीले बताए ।

नेपाल प्रहरीले प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षकसम्म लामो समयसम्म बढुवा नहुँदा कार्यक्षेत्रमा खटिने कर्मचारीको मनोबल गिर्दै गएको भन्दै तीन तह थप्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

सरकारले प्रहरी नियमावली संशोधन गरेपछि ४६ हजार प्रहरी जवानमध्ये मापदण्ड पुगेका १५ हजार ५ सय २७ प्रहरी जवान अब प्रहरी सहायक हवल्दारमा बढुवा हुने भएका छन् । जुन प्रहरी संगठनको संरचनामा रहेका ३३ प्रतिशत प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा हुने भएका हुन् ।

३ हजार ७ सय ४७ प्रहरी हवल्दार प्रहरी वरिष्ठ हवल्दारमा बढुवा हुने भएका छन् । त्यस्तै, १ हजार ४ सय १७ प्रहरी नायव निरीक्षकमध्ये प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा हुने भएका छन् । संशोधित नयाँ नियमावलीपछि २० हजारभन्दा धेरै कनिष्ठ प्रहरी अधिकृतले लाभ लिने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी केसीको भनाई छ ।

‘जुनियर प्रहरी अधिकृतको बढुवा लामो समयदेखि रोकिएको थियो’, उनले भने– ‘मंगलबारबाट नियमावली कार्यान्वयनमा आयो, संशोधित नयाँ नियमावली आएपछि एकैपटक २० हजारभन्दा धेरै प्रहरीको बढुवाको बाटो खुलेको छ ।’ संशोधित नयाँ नियमावलीमा बढुवाको अवधि घटाइएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News