काठमाडौँ उपत्यकामा जोर-बिजोर लागू हुँदा पनि किन बढ्यो संक्रमण ?


 


काठमाडौँ, माघ १४
मुलुकभरमा सबैभन्दा बढी कोभिड-१९ संक्रमितको संख्या उपत्यकामा छ । दैनिक तीन हजारको हाराहारीमा संक्रमण थपिने गरेका छन् । कोभिड उपचार केन्द्रमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएका छन् ।

ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको संक्रमणकाे चेन टुटाउन भन्दै काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सवारीसाधनमा ८ गतेदेखि जोर-बिजोर प्रणाली लागू गरिसकेका छन् । संक्रमितको संख्यामा वृद्धि भए पनि तर, सडकमा सवारीसाधनको संख्या कम भए पनि संक्रमण दरमा कमी आएको छैन । साना-साना सवारीसाधनमा मानिसहरू झुण्डिएर यात्रा गर्न बाध्य छन् ।

जोर-बिजोर प्रणाली लागू भएपछि मात्र उपत्यकामा २२ हजार ९०५ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १७ हजार १८०, ललितपुरमा ३ हजार ७०७ र भक्तपुरमा २ हजार १८ संक्रमित थपिएका छन् । त्यसैगरी सक्रिय संक्रमित ५५ हजार ८०९ जना छन् । काठमाडौँमा ४० हजार १२, भक्तपुरमा ५ हजार ७२८ र ललितपुरमा १० हजार ६९ जना छन् ।

व्यवसायी, जनस्वास्थ्य विज्ञ तथा सर्वसाधारणले जोर-बिजोर प्रणाली लागू भएपछि पनि संक्रमणदर नघटेको तर, झन बढी सास्ती भोग्‍नुपरेको भन्दै गुनासो गरिरहेका छन् । संक्रमितको संख्या ‘चेन ब्रेक’ हुन्छ भनेर लगाइएको जोर-बिजोर प्रणाली पनि प्रभावकारीता बन्‍न सकेको छैन । सडकमा सवारीसाधनको संख्या घटाउँदैमा संक्रमितको संख्या घट्ने वैज्ञानिक आधार पनि बनिसकेको छैन ।

सार्वजनिक यातायातमा यात्रुहरू खचाखच भरिएर यात्रा गर्न अहिले पनि बाध्य छन् । बसभित्र भौतिक दूरी कायम हुन सकेको छैन । जसले संक्रमणको ‘ब्रेक’ भन्दा पनि झन फैलने जोखिम बढाइरहेको छ । उपत्यकामा सबैभन्दा बढी भीडभाड बिहानी कार्यालयको समयमा हुने गरेको छ । आफ्नो कार्यालयमा समयमा उपस्थिति जनाउनुपर्ने भएकाले मानिसको चाप बढी हुन्छ । जसले संक्रमणदर रोक्नेभन्दा पनि अझ बढाउने देखिएको छ । तर, प्रशासनले भने सडकमा यातायातको साधन कमी भएपछि बाहिर संक्रमण दर घट्न थालेको बताउँदै आएको छ ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्