काठमाडौँका व्यापारीको हत्या गरेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं, माघ २८
काठमाडौँका व्यापारीको (व्यवसायी) विजय चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पक्राउ परेका ६ जनालाई बिहीबार सार्वजनिक गरेका हो ।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–५ ड्राइभर टोलका ३७ वर्षीय राजु शाह भनिने मञ्जुर आलम देवान र उनकी श्रीमती ३५ वर्षीय हदिसुन नेसा, रामग्राम नगरपालिका–२ परासी बस्ने वसन्तकुमार सहानी, निजकी श्रीमती शारदादेवी केवट, काठमाडौँका तलत अलि खान र जितबहादुर श्रेष्ठ रहेका छन् ।
देवान दम्पतीलाई भारताट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले बताए । उनीहरुले २० लाखको प्रलोभनमा परेर चौधरीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । देवान दम्पतीले आफ्नै घरमा चौधरीलाई हात पछाडि बाँधी घाटीमा डोरीले कसेर हत्या गरेको र मोटरसाइकलमा राखेर जोकवार गाउँको बाटोमा लगेर शव फालेका थिए । त्यसलगत्तै उनीहरु भारत गएका थिए ।
ऋणमा डुबेका देवान दम्पतीले पैसाको प्रलोभनमा चौधरीको हत्या गरेको स्वीकार गरेको प्रहरीको दावी छ । उनीहरुबाट प्रहरीले १७ लाख ३३ हजार ५ सय रुपैयाँ नगद समेत बरामद गरेको छ । पक्राउ परेका केवट दम्पती भने मुख्य अभियुक्त देवानका दिदी भिनाजु हुन् ।
काठमाडौँ महानगरपाािलका–२७ असनमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका ३५ वर्षीय चौधरीको शव माघ १० गते नवलपरासीको रामग्रामा भेटिएको थियो । मृतक चौधरी कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ स्थायी बासिन्दा हुन् ।
प्रकाशित मिति: २८ माघ २०७८, शुक्रबार