‘व्याख्यात्मक घोषणा एमसीसीको अंग होइन’
काठमाडौँ, फागुन २०
राष्ट्रिय प्रजातन्त्र पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्याल्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने क्रममा सँगसँगै पारित गरिएको व्याख्यात्मक घोषणा सम्झौताको अंग नरहेको निष्कर्ष निकालेको छ ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सो निष्कर्ष निकालेको हो । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बुधबार र बिहीबार बसेको थियो ।
बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा व्याख्यात्मक घोषणा एमसीसीको कानूनी अंग नभएको राप्रपाको निष्कर्ष रहेको उल्लेख छ । एमसीसी यथास्थितिमा पारित गरिनु हुँदैनथ्यो भन्ने राप्रपाको अडान कायम रहेको विज्ञप्तिमा जनाइएको छ ।
राप्रपाको कार्यसमिति बैठकमा निवर्तमान अध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी थिए । बैठकले अध्यक्ष राजेन्द्र लिङदेनद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।