भारतीय सवारीसाधनलाई इन्धन भर्न नदिन संसदिय समितिको निर्देशन
काठमाडौँ, फागुन २६
संसदीय समितिले इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनमा कोटा तोक्नेदेखि भारतीय सवारीलाई पेटोलियम पदार्थ भर्न नदिनेसम्मको काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बुधबार बसेको बैठकले खपत घटाउने गरी काम गर्न विभिन्न निर्देशन दिएको हो ।
समितिले सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू गर्ने, इन्धन बिक्रीमा कोटा तोक्ने र भारतीय सवारी साधनलाई नेपालमा इन्धन भर्न रोक लगाउनेसम्मको उपाय अबलम्बन गर्न निर्देशन दिइएको छ । उनले त्यसैगरी समितिले निगमले पम्पहरुलाई दिने तेल कटौती गर्र्न र पेट्रोलको कर पनि घटाउन पनि निर्देशन दिएको छ ।
बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन यस्ता निर्देशन दिइएको समिति सभापति बिमल श्रीवास्तवले बताए ।
कोरोना कालमा जनता बचाउन जोर–बिजोर लगाएको भन्दै अब अर्थतन्त्र बचाउन जोर–बिजोर लगाउनु पर्ने उनको धारणा थियो ।