कांग्रेसमा अधिकांश शीर्ष नेता चुनावी गठबन्धनको पक्षमा, शेखर समूह विपक्षमा
काठमाडौं, चैत्र १४
नेपाली कांग्रेसका अधिकांश शीर्ष नेता आगामी स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी तालमेलका पक्षमा प्रस्ट छन् । उनले गठबन्धन आबद्ध दलबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल हुने बताउँदै आइरहेका छन् । यो विषयमा शीर्ष नेताले जारी केन्द्रीय समिति बैठकमा मुख खोल्दै गएका छन् ।
सभापति देउवासँगै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा। शशांक कोइराला, कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइराला पनि सत्ता गठबन्धन आबद्ध दलबीच चुनावी तालमेलको पक्षमा उभिएका छन् ।
तर, कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्दै आएका नेता डा. शेखर कोइराला भने कांग्रेस कसैसँग तालमेल नगरी एक्लै निर्वाचनमा अघि बढ्नुपर्नेतर्फ जोड दिँदै आइरहेका छन् ।
उनले कांग्रेसले अरूको साथ खोजेर अघि बढ्ने हो भने भारतीय कांग्रेस पार्टी कांग्रेस आईको जस्तो अवस्थामा खुम्चिन पुग्ने चेतावनीसमेत दिँदै आएका छन् । राजधानी दैनिकमा समाचार छ ।