एमबीबीएस परीक्षामा सेटिङ : क्याटेगोरीअनुसार ५ देखि १८ लाखसम्म रकम ‘डिल’
काठमाडौं, चैत्र २२
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।
गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत छन् ।
महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए ।
‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले भने । राजधानी दैनिकबाट