विराटनगरमा एमालेबाट उपप्रमुख उम्मेदवार कार्कीविरुद्ध उजुरी


 


ठमाडौँ, १४ वैशाख । विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी शिल्पा निरौला कार्कीविरुद्ध उजुरी परेको छ । कोशी अञ्चल अस्पताल सञ्चालक समितिको सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएको भन्दै कार्कीविरुद्ध उजुरी परेको हाे । 
 
कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा गठबन्धनतर्फका जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका हुन् । उजुरीपछि उनले हतपत राजीनामा बुझाएकी छन् ।  

यता कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलले निवेदक जनता समाजवादी पार्टीलाई जानकारी दिँदै कार्कीले अस्पताल विकास समिति गठन आदेश अनुसार कार्कीले बैठक भत्ता लिने गरेको उल्लेख गरेका छन् । 

‘प्रस्तुत विषयमा यस अस्पतालमा मिति २०७९÷०१÷१३ गतेको निवेदन माग बमोजिम कोशी अस्पताल विकास समितिको सदस्यमा कार्यरत शिल्पा निराला कार्कीले अस्पताल विकास समिति गठन आदेश २०७६ बमोजिम निजले बैठक बसेको समयमा बैठक भत्ता र कार्यालयको कामको सिलसिलामा अन्यत्र जानुपरेमा दैनिक भ्रमण भत्ता लिने व्यवस्था रहेको र यस अस्पतालबाट सोही बमोजिमको सुविधा लिएको ब्यहोरा जानकारीको अनुरोध छ,’ जानकारी दिएको पत्रमा उल्लेख छ । 

अस्पतालले दिएको पत्रका आधारमा कार्कीलाई झनै सङ्कट परेको अधिवक्ता दाहालको भनाइ छ । कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि मात्रै राजीनामा बुझाएको पनि खुलेको छ । कार्कीले मंगलबार मात्रै राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त  प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले बताए ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने उजुरीमाथि छानबिन थालिएको जनाएको छ । 

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्