चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे


 


पोखरा, वैशाख २४
निर्वाचन आयोगले आफुले रोजेअनुसार चुनाव चिन्ह नदिएको आरोपमा अराजक अभिब्यक्ति दिएका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।

अटेरीले सुरुमा लौरो चिन्ह रोजेको थियो । तर, आयोगको निर्देशिका अनुसार स्वतन्त्र उम्मेद्वारको संख्याका आधारमा कोटा छुट्याईएको र सोही सीटबाट रोज्नुपर्नेमा उनीहरुले मतपत्रमा भएकामध्ये सबैबाट लौरो छानेका थिए । आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोली निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।

उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति: २४ बैशाख २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्