भोजपुरमा माधव नेपालको पार्टीको अपमान !


 


भोजपुर, जेठ ५
मलाई मान पुगेन ! अपमान भो !

लामो लेग्रो तान्दै यी शब्द उच्चारण गर्ने व्यक्ति हुन् एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामसँगै भोजपुरमा माधव नेपालको पार्टीको अपमान भएको छ ।

नौ वटा स्थानीय तह रहेको भोजपुरमा ८१ वडा रहेका छन् । जहाँ माधव नेपालको पार्टीले एउटा वडाअध्यक्ष पदमा सिमित हुनु परेको छ ।

जारी मतपरिणामलाई लिएर सत्तारुढ गठबन्धनको एउटा घटक रहेको उक्त दलललाई अन्य दलले हेपेको स्वयम् माधव नेपाल र झलनाथ खनालले बताउन थालेका छन् ।

निर्वाचन हुनु अगाडि भोजपुरमा ६ जना जनप्रतिनिधि एकिकृत समाजवादीमा लागेका थिए । भोजपुर नगरपालिकाकी उपप्रमुख ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष इन्द्रावती राई र बाँकी चार जना सदस्य एमाले चोइटिएर बनेको एकिकृत समाजवादीमा जिल्लाभरबाट गएका थिए ।

गठबन्धन दलले एकिकृत समाजवादीलाई भोजपुरमा पहिले एमालेबाट जितेका उनिहरुलाई उपप्रमुख र उपाध्यक्षमा उठाएको थियो । तर उनिहरु दुबै जना गठबन्धनबाट उठेपनि पराजित भएका छन् ।

चुनाव जित्नकै लागि भोजपुर नगरपालिकामा ममिता राईले कलम चिन्हको ठाउँमा कांग्रेसको रुख चिन्ह लिएर उठेकी थिईन् । तर भोजपुर नगरपालिकाका मतदाताले उनलाई पत्याएनन् ।

जहाँ एमालेकी निर्मला शेर्पाले उपप्रमुख जितिन् । शेर्पाले ५५ सय मत ल्याएर उपप्रमुख जितिरहँदा राईले ५१ सय ५३ मत प्राप्त गरिन् ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिकामा इन्द्रावती राईले भने आफ्नै पार्टीको कलम चिन्ह लिएर उपाध्यक्षमा उठिन । यहाँ पनि एमालेकी रमा राईसँग इन्द्रावती पराजित हुनु पर्याे । रमाले ३३ सय ८८ मत ल्याउँदा इन्द्रावतीले ३२ सय ९८ मत प्राप्त गरिन् ।

दुबै पालिकामा ३०० मत पनि नभएको दुबै पार्टीका उम्मेदवारले ल्याएको मत सम्मानजनक रहेको गठबन्धन दलका नेताहरुको भनाई छ । तर, एकिकृत समाजवादी भोजपुरका नेताहरु भने आफ्नो पार्टीको अपमान भएको बताउने गरेका छन् ।

भोजपुरमा एकिकृत समाजवादीले यी दुई ठाउँ बाहेक अन्य पालिकाका वडाहरुमा वडाअध्यक्ष लगायतका पदहरुमा उम्मेदवार उठाएको थियो । तर एक वडाध्यक्ष जित्नु बाहेका यो पार्टीको जिल्लामा उपलब्धी हासिल भएन ।

षडानन्द नगरपालिकाको वडा नं ९ मा ङिमा शेर्पाले वडाअध्यक्ष जितेका हुन् । उनले ३४३ मत ल्याउँदा एमालेका शेखर तामाङ्गले ३११ मत ल्याएर पराजित भएका थिए ।

एकिकृत समाजवादीलाई भोजपुरमा १९ सय ४५ मत खसेको निर्वाचन आयोगले प्रकाशित गरेको नतिजामा उल्लेख छ । यो भनेको भोजपुरमा चौथो पार्टीको हैसियत हो ।

प्रकाशित मिति: ५ जेष्ठ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्