पार्टी प्यालेसमा एक जनामाथि खुकुरी प्रहार, तीन पक्राउ


 


काठमाडौं, असार ३
काठमाडौंको छिमेकी पार्टी प्यालेसमा एक जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका– ६ घर भई गोकर्णेश्वर नगरपालिका– ६ जोरपाटी बस्ने ३० वर्षीय शरण पोखरेल, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका–४ का २२ वर्षीय कविराज तामाङ र सोही ठाउँका २० वर्षीय सुजन श्रेष्‍ठ रहेका छन् ।

यही असार १ गते राति ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–५ नारायणटारस्थित छिमेकी पार्टी प्यालेस नजिक सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–८ घर भई काठमाडौं कपन बस्ने ३५ वर्षीय धनबहादुर श्रेष्ठको टाउकोमा धारिलो हतियारको चोट लागेको थियो ।

मादक पदार्थ सेवन गरेका केही मानिसहरु झगडा गरी धारिलो हतियार समेत प्रहार गरेको भन्ने सूचनापछि प्रहरी बृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षकसहितको प्रहरी टोली तत्कालै परिचालित भएको थियो ।

विवाहको पार्टीमा भएको सामान्य झगडाको निहुँमा रिसईवी राखी श्रेष्ठमाथि खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

उनीहरूको साथबाट एकथान खुकुरी र एकथान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्