नापी कार्यालयबाट एक लाख २५ हजार घुससहित बिचौलिया रंगेहात पक्राउ


 


काठमाडौं, असार ८
नापी कार्यालय पर्साबाट एक जना बिचौलिया घुससहित पक्राउ परेका छन् । नापी कार्यालयमा सेवाग्राहीबाट १ लाख २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका-१३ मुर्ली घर भएका ६० बर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डे पक्राउ परेका हुन् ।

उनले सेवाग्राहीलाई लालपुर्जा उपलब्ध गराइदिने भनि घुस रकम माग गरेका थिए । घुसबापतको रकम सेवाग्राहीले पाण्डेलाई दिएपछि पुगेको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

विगत तीन महिनादेखि उनले वीरगन्ज महानगरपालिका-१५ लक्ष्मणवा निवासी राजनारायण झालाई लालपुर्जा दिलाइदिने भन्दै झुलाउँदै आएका थिए ।

नापी कार्यालयमै पक्राउ परेका सरकारी पोशाकमै रहेका पाण्डेले आफू कार्यालयको कर्मचारी भएको बताउँदै सेवाग्राहीलाई ठग्दै आएका थिए ।

घुससहित पक्राउ परेका उनलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मंगलबार पाण्डे पक्राउ परेपछि नापी कार्यालयले झालाई लालपुर्जा तत्काल उपलब्ध गराएको छ ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्