झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द


 


बैतडी, असार २२
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ ।

झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले मंगलबार साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।

महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

यसैबीच दुवै देशका सुरक्षा निकायले मंगलबार पुलको अवलोकन तथा निरीक्षण गरेका छन् । वर्षौँ पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको छ ।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्