Deshko News
१३ आश्विन २०८०, शनिबार

चालू आर्थिक वर्षमा थप आठवटा क्यासिनो सञ्चालनमा



काठमाडौं, असार २८
चालू आर्थिक वर्षमा थप आठवटा क्यासिनो सञ्चालनमा आएका छन् । पर्यटन विभागका अनुसार आव २०७८/७९ को हालसम्म दुईवटा ठूला र छवटा साना (मिनी) क्यासिनो थपिएका हुन् ।

झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा (पाँचतारे डिलक्स होटल)मा २०७८ असोजदेखि क्यासिनो सञ्चालनमा आएको हो । उक्त क्यासिनो भारतीय क्यासिनो कम्पनी बिग ड्याडीले व्यवस्थापन गर्दैै आएको छ ।

काठमाडौँको ठमेलमा रहेको छायादेवी कम्प्लेक्समा पनि क्यासिनो सञ्चालनमा आएको छ । होटल एलफ्टद्वारा सञ्चालित यो क्यासिनोले २०७८ मङ्सिरमा विभागबाट सञ्चालन अनुमति पाएको थियो । त्यस्तै बाँकेका बेलिज इन्टरटेन्मेन्ट कम्पनीको होटल स्नेह प्रालि, भेन्यु रिक्रिएसन कम्पनीको होटल स्टारलाइट नीलदेवी र ओम त्रयम्बकम् इन्टरटेन्मेन्ट कम्पनीको कल्पतरु होटल एन्ड कौशिकी बैङ्क्वेटमा मिनी क्यासिनो सञ्चालनमा आएका छन् ।

भैरहवाको सिद्धार्थ गेमिङ जोन कम्पनीको होटल नान्स परिसर, नेपालगञ्जको सेपियर इन्टरटेन्मेन्ट टेक्नोलोजी कम्पनीको होटल सिटी प्यालेस र पर्साको गोल्डेन फिङ्गर गेमिङ जोन कम्पनीको हिमाल वाटर पार्क एन्ड भिलेजमा पनि मिनी क्यासिनो सञ्चालनमा आएको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको होटल, रिसोर्ट, क्यासिनो र साहसिक पर्यटनसम्बन्धी विवरण २०७८ अनुसार चालू आर्थिक वर्ष थपिएकासहित देशभर क्यासिनोको सङ्ख्या २३ पुगेको छ । यसमध्ये १० वटा ठूला र बाँकी मिनी क्यासिनो हुन् ।

पाँचतारे डिलक्स एक र पाँचतारे होटल १७ गरी नेपालमा पाँचतारे होटलको सङ्ख्या १८ पुगेको छ । त्यसमध्ये झापाको धुलाबारीमा सञ्चालनमा आएको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालिको होटल मेची क्राउन प्लाजा होटल पाँचतारे डिलक्स स्तर वर्गीकरणमा सूचीकृत भएको छ ।

विभागले गरेको वर्गीकरणअनुसार पाँचतारेस्तरका होटलमा दुई हजार ७७६ वटा कोठा छन् । यी होटलमा चार हजार १६० श(या रहेका छन् । यी होटलले तीन हजार ८६८ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् ।

विभागको वर्गीकरण देशभर चारतारे होटलको सङ्ख्या २७, तीनतारे होटल ३४, दुईतारे ४३, एकतारे ३७, हेरिटेज एवं बुटिक चार, लक्जरी रिसोर्ट दुई र साधारण रिसोर्टमा १०९ वर्गीकृत भएका छन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News