आज साउन महिनाको पहिलो सोमबार,भगवान शिवको प्रिय दिन

काठमाडौं, साउन २
भगवान शिवको प्रिय मानिने साउन महिनाको आज पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरु शिवधामहरुमा पूजाअर्चना गर्न भीड लागेको छ । शिव मन्दिरमा बिहानैदेखि जर्लापण शुरु भएको छ ।
काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेको धनेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ। पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।
शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ।
प्रकाशित मिति: २ श्रावण २०७९, सोमबार