यसकारण उकालो लाग्दैछ कोरोना संक्रमणको ग्राफ


 


काठमाडौं, साउन ३
कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलोपटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या आजसम्म आइपुग्दा संक्रमण ४५७ पुगेको छ ।

असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा आज सक्रिय संक्रमित एकहजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज संक्रमणका कारणले एक/एक संक्रमितको ज्यान गएको छ ।

संक्रमण असारदेखि उकालो लाग्न थालेको हो । असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा संक्रमण देखिएको छ ।

शून्य दशमलव पाँच प्रतिशतमा रहेको संक्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी संक्रमित काठमाडौंमा रहेका छन् । शून्य संक्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको बताउँछन् । “भारतमा दैनिक संक्रमण बढिरहेको छ । भारतबाट हजारौँ मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्,” उनले भने, “ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक संक्रमण देखिएको छ । ती मानिसले नै संक्रमण सारिरहेका छन् ।”

उनका अनुसार भारतमा संक्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागु नगर्नाले संक्रमण बढेको हो । मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भिडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि संक्रमण फैलिएको बताइन्छ ।

नेपालमा पनि अणुवाङ्शिक (जिन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘बीएफाइभ’ प्रजातिको संक्रमित भेटिएको छ । उनले बीएफाइभ प्रजातिको संक्रमण फैलिने उच्च दर रहेकाले अहिले संक्रमित बढेको बताए । महाशाखाका निर्देशक डा। दासले संक्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन् । उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलोपटक असारमा बिरामी उपचारका लागि आएका थिए । अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । तीमध्ये सघन उपचार कक्ष (आईसीयू) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन् ।

अस्पतालमा हिजो साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो । उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए । रासस

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्