बदनाम छविका जनार्दन पुनः अर्थमन्त्री नियुक्त


 


काठमाडौं, साउन १५
बदनाम छविका जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो ।

अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेपछि संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए ।

संसदीय छानबिन समितिले बहुमतका आधारमा शर्मालाई चोख्याउने गरी प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

शर्मा अर्थमन्त्रीमा नियुक्त भएपछि सर्वत्र विरोध भइरहेको छ । शर्मा अर्थमन्त्री भएपछि एकपछि अर्काे बदनाम र विवादास्पद निर्णयहरु हुन थालेपछि उनको सर्वत्र आलोचना भएको हो ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्