युवतीमाथि बलात्कार प्रयास गर्ने ड्राइभिङ सेन्टरका सञ्चालक पक्राउ


 


दाङ, साउन २३
दाङमा युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ड्राइभिङ सेन्टरका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका घर भई तुलसीपुर उपमहानगरपालिका ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय बालाराम डाँगी पक्राउ परेको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार डाँगीमाथि उनकै कार्यालयमा कार्यरत एक युवतीले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । आइतबार राति १२ बजेतिर डाँगीले ‘एउटा जरूरी फर्म भर्नु छ’ भन्दै ती युवतीलाई बोलाउन गएको प्रहरीले जनाएको छ ।

युवतीले म यो मध्यरातमा कार्यालय जाँदिनँ भनेर अडान लिएपछि डाँगीले आफ्नी श्रीमती पनि कार्यालयमै रहेको विश्वास दिलाएपछि उनी गएकी थिइन् । तर डाँगीकी श्रीमती कार्यालयमा थिइनन् । फर्म भरेर फर्किने क्रममा करिब १ बजेतिर भर्‍याङमा डाँगीले युवतीलाई समातेको भन्ने कुरा जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

सँगै गएकी साथी केही अगाडि रहेको र त्यही मौका छोपी डाँगीले ती युवतीलाई समाते पनि युवतीले प्रतिकार गरेर उम्कन सफल भएको कुरा पीडितले बताएकी छन् । किटानी जाहेरीपछि हामीले डाँगीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २४ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्