Deshko News
८ आश्विन २०८०, सोमबार

विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठ जेल चलान



काठमाडौं । शंकास्पद कारोबारमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले श्रेष्ठलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबार गरेको पाइएपछि पक्राउ परेका श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको भन्दै श्रेष्ठविरुद्ध बिगोको ३ गुणसम्म जरिवाना र ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ ।

नेपालमा गैरकानुनी मानिएको क्रिफ्टो करेन्सीमार्फत् अवैध रुपमा आर्जन गरेको र नेपालबाट हुण्डीमार्फत् विदेशमा रकम पठाएर सञ्चित गरेको उनीविरुद्ध दायर भएको अभियोगपत्रमा उल्लेख गरिएको छ। श्रेष्ठले क्यानडा, अस्ट्रेलियालगायतका देशहरुका बैंकमा रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ।

उनको साथबाट बरामद भएका २ थान मोबाइल तथा २ थान ल्यापटप अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गर्दा ठूलो रकमको कारोबार भएको देखिएको थियो।

श्रेष्ठको कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा १ लाख ९४ हजार २ सय ८५.५६ डलर तथा रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४ सय २१.३८ डलर कारोबार भएको पाइएको छ ।

यस्तै, रोयल बैंक अफ क्यानडाबाट सेयर कारोबार समेत गरेको देखिएको, एभरेस्ट बैंक लिमिटेडको खाताबाट २ करोड ६ लाख ६ हजार ६ सय ९२ र एनआईसी बैंकको खाताबाट ६५ लाख २४ हजार ९ सय १०९ गरी नेपालमा विभिन्न कम्पनीमा सेयर लगानी रहेको पाइएको प्रहरीले जनाएको छ।

उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।​ श्रेष्ठ विशाल सिमेन्टका सञ्चालक हुन् । क्रिप्टो करेन्सीको कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News