सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’


 


काठमाडौं, साउन २६
भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको छ ।

अख्तियारले सचिव तथा विभागीय प्रमुखले जिम्मेवारी र इमानदारीपूर्वक काम गर्न नसक्दा मातहतका निकायमा भ्रष्टाचार बढेको र त्यसविरुद्ध अख्तियारमा उजुरी आउने क्रमसमेत ह्वात्तै वढेको निष्कर्ष निकालेको छ ।

अख्तियारको सो निष्कर्षपछि सचिव र विभागीय प्रमुखलाई त्यस्ताखाले उजुरी आउन नदिन अख्तियारमा नै बोलाएर सचेत पारिएको हो ।

मुख्य सचिव शंकरदास वैरागीलाई सँगै राखेर अख्तियारले सचिव र महानिर्देशकलाई कुनै खाले भ्रष्टाचारमा सहभागी हुन नदिन, मातहतलाई पनि सुशासनयुक्त राख्न, परिणाम निस्कने गरी काम गर्न र जनतालाई प्रभावकारी सेवा दिनसमेत निर्देशन दिएको छ ।

अख्तियारले मंगलबार र बुधबार लगातार दुई दिनसम्म सरकारका सबै मन्त्रालयका सचिव तथा मातहतका विभागका महानिर्देशक एवं अन्य विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर छलफल र केरकार गरेको हो । राजधानी दैनिकबाट

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्