आफ्नै घोषणा विपरीत सरकारी गाडी चढ्दै विराटनगरका मेयर कोइराला


 


बिराटनगर, साउन २९
स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका विराटनगरका प्रमुख मेयर नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने बताएका छन् ।

कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक सूचना जारी गरेर निजी गाडीमा महानगरबाट प्राप्त हुने तेल प्रयोग गर्दा बेरुजु देखिएको भन्दै यस्तो निर्णय गरेको बताएका छन् ।

महानगरपालिका प्रमुखले प्रयोग गर्ने गाडी लामो समयसम्म प्रयोग नगर्दा बिग्रिने भएका कारण निजी काम बाहेक सरकारी गाडी प्रयोग गर्ने उनले बताए ।

मेयर कोइरालासँग तीन करोड ३० लाख रुपैयाँमा खरिद गरेको निजी गाडी छ । यो गाडी गत चैतमा मात्रै खरीद गरेका थिए ।

सबै विषयमा पारदर्शिता अपनाउने बताउँदै उनले आफ्नो निजी कामबाहेक महानगरकै गाडी प्रयोग गर्ने बताए ।

प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्