हराएको नागरिकता फेला पारी कम्पनी खोलेर रसिया पठाइदिने भन्दै ठगी धन्दा


 


काठमाडौं, भाद्र २
हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोली ठगी गर्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भक्तपुरको ठिमी नगरपालिका–९ का २८ वर्षीय सुरेश भनिने प्रदीप कर्माचार्य, मुगुको खत्याड गाउँपालिका–११ का २४ वर्षीय विशाल कार्की र खत्याड–८ कै २१ वर्षीय रामकृष्ण रावत छन् ।

उनीहरुले हराएको नागरिकता फेला पारी उक्त नागरिकतामार्फत कम्पनी खोलेर ठगी धन्दा सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको निरज पाण्डेय नामको नागरिकता हराएको थियो । उक्त नागरिकतामार्फत् कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा एभरेष्टलिंक इन्टरनेशनल एजुकेशन प्रालि नामको कम्पनी दर्ता गरिएको थियो।

पाण्डेयको नागरिकताबाट कम्पनी खोलेका उनीहरुले कुमारी र सेन्चुरी बैंकमा खातासमेत खोलेका थिए । त्यसपछि वैदेशिक रोजगारीमा रसिया पठाउने भन्दै रकम कुमारी र सेन्चुरी बैंकको खातामा हाल्न लगाएर ठगी गरेको खुलेको थियो ।

वैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा पारी मेरो नामबाट सर्वसाधारणलाई ठगी गरेकाले ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजतलास गरी कारवाही गरी पाउँ भन्दै पाण्डेयले निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरु तीन जनाले ज्ञानेश्वरस्थित घरमा कार्यालय खडा गरी ठगी कार्य गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।

पक्राउ परेका मध्ये कर्माचार्य कम्पनीको सिईओ, कार्की पाण्डेयको नागरिकता आफ्नो भएको भन्दै बैंकमा खाता खोल्ने व्यक्ति र रावत कम्पनीको सहजकर्ता भएको खुलेको उनले बताए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्