दशैंमा उपत्यकामा तालिमप्राप्त कुकुरसहित सात हजार ७५८ प्रहरी खटिने


 


काठमाडौँ, असाेज ६
दशैंमा सुरक्षा व्यवस्था चुस्त बनाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यकामा सात हजार सात सय ५८ प्रहरी खटाउने भएको छ।

चाडपर्वको समयमा हुने झैझगडा, दुर्व्यवहार, ठगी, चोरी, जुवातास नियन्त्रणका लागि थप सुरक्षाको प्रबन्धन गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

भक्तपुर, ललितपुर र काठमाडौंमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीसँगै सादा पोशाकमा पनि प्रहरी खटाइने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले बताए। ‘आवश्यकता अनुसार नागढुङ्गा, फर्पिङ, जगाती चेक प्वाईन्ट लगायतका नाका र व्यापारिक स्थानमा तालिमप्राप्त कुकुरको प्रयोग गरिनेछ,’ प्रवक्ता रिजालले भने, ‘चाडपर्वको वेला कुनै पनि ठाउँमा अप्रिय घटना नहोस् भनी सुरक्षालाई थप कडाई गर्छौं।’

जिल्लाको अवश्यकता र माग अनुसार सुरक्षा व्यवस्थालाई कडाइ गरिने प्रवक्ता रिजालको भनाइ छ। ‘दशैंका लागि उपत्यका बाहिरिनेको संख्या धेरै हुन्छ, त्यसैले यातायातमा सुरक्षा जाँचलाई प्राथामिकतामा राख्छौँ,’ एसपी रिजालले भने, ‘उपत्यकामा दशैंमा भीडभाड कम हुने हुँदा चाप कम भए पनि चोरी डकैटी हुनसक्छ, त्यसैले पनि सुरक्षा कडाई गर्नुपर्छ।’

सुरक्षा व्यवस्थापनका लागि मोबाईल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोशाक प्रहरी परिचालन, सीआरभी, सीसीटीभी निग्रानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाईन्ट ड्यूटी, मापसे चेकिङ सहित, विशेष चेकिङ (लामो दूरी दवारी चेकिङ) मा प्रहरी खटाइने उनले बताए। ‘नियमित हुने प्रहरी सुरक्षा जाँचमा समेत कडाइ गरिनेछ,’ उनले भने।

चाडपर्वमा मादक पदार्थ सेवन गरी झगडा एवं कुटपिट हुने, जुवातास, लङ्गुर बुर्जा खेलहरु खेलाई सामाजिक विकृति बढाउने, पकेटमारी, चोरी, लुटपाट जस्ता क्रियाकलाप हुनसक्ने उनको भनाइ छ।

यससँगै सवारी साधनको सुरक्षामा विशेष ध्यान दिइने उनको भनाइ छ। ‘चाडपर्वमा धेरै चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँछन,’ उनले भने, ‘दुर्घटना कम गर्नका लागि पनि सुरक्षा जाँच आवश्यक देखिन्छ।’

उनी लामो तथा छोटो दूरीका सवारी साधनले यात्रुसँग बढी भाडा असुल्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने क्रियाकलाप चाडपर्वमा हुने भएकाले सुरक्षामा कडाइ गर्नुपरेको उनको भनाई छ।

चाडपर्वको वेला बित्तीय संस्थाबाट रकम झिक्ने, सरसामान किनमेल गर्ने स्थानमा चोरी, लुटपाट, ठगी र डकैतीका घटना हुने गरेका छन्। यस्तो वेला बजारमा कृतिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि जस्ता कार्य चाडपर्वमा बढी हुने गरेका छन्।

खुशी साट्ने चाडपर्वमा आम मानिस कुनै पनि पीडा तथा समस्यामा नपरोस् भनेर सुरक्षा व्यवस्थामा कडाइ गरिने प्रवक्ता रिजालको भनाइ छ। त्यसैअनुसार, प्रहरीले दशैं सुरक्षा व्यवस्थाअन्तर्गत काम गर्न थालिसकेको उनले बताए। ‘असोज १ गतेदेखि नै विभिन्न ठाउँमा प्रहरी परिचालन भइरहेका छन्,’ उनले भने।

अहिले चोरी तथा लुटपाटका घटना बढी हुने क्षेत्रको पहिचान गरी प्रहरी परिचालन गर्ने र आकस्मिक रुपमा खानतलासी गर्ने काम भइरेको प्रहरीले जनाएको छ। ‘आवश्यकता अनुसार सवारी साधन लगायत विभिन्न स्थानमा छड्के जाँच भइरहेको छ,’ एसपी रिजालले भने, ‘दशैैं, तिहार लक्षित अपराधिक घटनाको नियन्त्रणमा प्रहरी एकाईबाट आ–आफ्नो जिम्मेवारी क्षेत्रमा घरदैलो अभियान सञ्चालन भइरहेको छ।’

यससँगै चाडपर्वको समयमा जिल्लाले मागेको खण्डमा थप प्रहरी परिचालन गर्ने गरी सुरक्षा व्यवस्था तयार गरिएको उनले बताए।

१४ स्थानमा यात्रु साहायत कक्ष
दशैंको समयमा धेरै यात्रु उपत्यका बाहिरिने गर्छन्। यात्रुलाई सुरक्षित यात्रा गराउँनका उपत्यका ट्राफिक प्रहरी कार्यालयले १४ स्थानमा यात्रु सहायत कक्ष र ३५ स्थानमा सवारी जाँचको व्यवस्था गरिएको उनले बताए।

उपत्यका ट्राफिक प्रहरी कार्यालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले दशैंको अवसरमा हुने यातायातको ठगी नियन्त्रण गर्न सहायता कक्षा र सवारी जाँच थप गरिएको बताए। ‘उपत्यका बाहिरिनेको संख्या धेरै हुने भएकाले नाका र मुख्य चोकमात्र नभइ थप स्थानमा समेत सुरक्षा जाँच राखिएको हो,’ एसएसपी भट्टले भने, ‘अहिले भइरहेको सुरक्षा जाँचमा ३५ स्थान थप गरिएको छ, आवश्यकता अनुसार थप्दै लैजान्छौँ।’

उनका अनुसार, नागढुङ्गा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिने भएको छ।

यात्रु सहायता कक्षामार्फत राजधानीबाट बाहिरिनेलाई गन्तव्यसम्म यात्रुलाई सहजै जान आवश्यक समन्वय गर्ने उनले बताए। ‘चाडपर्वमा यातायातमा मदिरा ओसारपसार र ठगी धेरै हुन्छ, नियन्त्रणका लागि थप ट्राफिक प्रहरी परिचालन गरिनेछ,’ उनले भने।

बस काउन्टर मात्र नभई प्रत्यके चोक–चोकमा सादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिने उनले बताए।

प्रकाशित मिति: ६ आश्विन २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्