१६ किलो अफिमसहित तीन महिला पक्राउ
बुटवल । कपिलवस्तुस्थित नेपाल-भारत सीमा नाका कृष्णनगरनाकाबाट प्रहरीले १६ किलो अफिमसहित तीन जना महिलालाई पक्राउ गरेको छ । कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको आवस्थामा अफिमसहित उनिहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आस कुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं. ४ लमही बस्ने वर्ष ४८ की नर्मला विक. र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने वर्ष ३६ की भावना पुन मगररहेका छन् ।
भारत जान लागेका उनिहरुको खानतलासी गर्दा महिलाहरूले कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद अफिमको बजार मुल्य ४० लाख पर्ने दाबी गरिएको छ । बरामद अफिमको बारेमा थप अनुसान्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरूलाई प्रहरी हिरासतमा राखेको छ ।
प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलबार