Deshko News
११ आश्विन २०८०, बिहिबार

चीनले फेरी बन्द गर्‍यो व्यापार नाका



काठमाडौं, माघ ९
नेपाललाई कुनै सूचना नदिई चिनियाँ पक्षले एक पक्षीय रूपमा दुई व्यापारिक नाका बन्द गरेको छ। चीनतर्फ नयाँ वर्षसँगै अन्य चाडपर्व सुरु भएको बहाना बनाउँदै केरुङ र तातोपानी नाका बन्द गरिएको हो। अन्तर्राष्ट्रिय व्यापारमा नाका बन्द गर्दा सम्बन्धित पक्षलाई पूर्वजानकारी दिनुपर्ने मान्यता छ। तर चिनियाँ अधिकारीले नेपाली पक्षलाई औपचारिक रूपमा कुनै जानकारी नदिई केरुङ र तातोपानी नाकाबाट आयात-निर्यात रोकेको हो। नाका बन्द भएपछि त्यहाँबाट हुने आयात-निर्यात ठप्प भएको छ।

१५ दिनका लागि केरुङ नाका बन्द गरेको अनौपचारिक माध्यमबाट जानकारी मिलेको रसुवागढी भन्सारका प्रमुख नारायणप्रसाद भण्डारीले बताए। ‘नाका बन्द गर्ने औपचारिक कुनै जानकारी छैन,’ भण्डारीले भने, ‘शुक्रबार सामान आएको होला भनेर जाँदा ढोका बन्द थियो।’ केरुङ नाका माघ २१ गतेसम्म बन्द हुने जनाइएको छ। अहिले केरुङ नाकाबाट दैनिक एक दर्जन कन्टेनरमा सामान आयात हुने गरेको थियो। तातोपानी नाका माघ १४ गतेसम्मका लागि बन्द भएको छ। तातोपानी नाकाबाट दैनिक तीनरचार वटा कन्टेनर आउने गरेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएलगत्तै पुसको पहिलो साता रसुवागढी नाकाबाट सामान निर्यात सुरु भएको थियो। कोभिड १९ सुरु भएपछि ३० महिनाअघि चीनले आयात-निर्यातमा रोक लगाएको भए पनि कोभिड घटेपछि आयात खुकुलो पारेर नेपालबाट हुने निर्यात रोकेको थियो। दाहाल प्रधानमन्त्री भएलगत्तै आयात-निर्यात सुरु भए पनि फेरि नाका बन्द गरेको भन्दै व्यापारी चिन्तित भएका छन्। चिनियाँ अधिकारीले विगतमा पनि यसैगरी एक पक्षीय रूपमा नाका बन्द गर्ने गरेका थिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News