निगमका पाइलटद्वारा एयर होस्टेसमाथि दुर्व्यवहार


 


काठमाडाैं, माघ १३
नेपाल वायुसेवा निगमकी परिचारिका (एयर होस्टेस) आरती महर्जनले उडानकै क्रममा पाइलट अरविन्दराज पहारीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । महर्जनले निगमको अपरेसन विभागमा गत २७ साउनमै हस्तलिखित र इमेलमार्फत उजुरी गरे पनि छानबिन नभएपछि निगमका ८९ परिचारिका आन्दोलित बनेका छन् ।

गत ११ साउनमा मलेसियाको राजधानी क्वालालम्पुरदेखि काठमाडौंसम्मको उडानका क्रममा पहारीले सिनियर परिचारिका महर्जनलाई जिम्मेवारीविहीन बनाएर जुनियर परिचारिकालाई भूमिका दिएको आरोप छ । महर्जनलगायत अन्य परिचारिकाले यसको विरोध गरेपछि पाइलट पहारीले त्यसपछिका आफ्ना उडानहरूमा उनीहरूलाई ‘क्याबिन क्रु’ राख्नै अस्वीकार गरेकोसमेत आरोप छ । निरन्तर दुर्व्यवहार भएपछि महर्जनले निगमको सम्बन्धित शाखामा उजुरी दिएकी हुन् ।

तर, पाँच महिनासम्म पनि छानबिन नभएपछि २ पुसमा पुनः अपरेसन विभागसँगै निगमका अध्यक्ष युवराज अधिकारी, निगमकै मानव संसाधन विभाग निर्देशक अशोक सिग्देल, उडान सुरक्षा निर्देशक रवीन्द्रकुमार शेरचन, क्याबिन क्रु प्रमुख सुमिली सुब्बा जुहार्चन र नागरिक उड्डयन मन्त्रालयमा समेत उजुरी दिएकी थिइन् । तर, उजुरी मन्त्रालयसम्म पुग्दा पनि छानबिन भएको छैन । बरु आन्दोलित परिचारिकाहरूको करार अवधि नथप्ने, जिम्मेवारीमा भेदभाव गर्ने, धम्क्याउनेजस्ता दुर्व्यवहार भएको आरोप छ ।

तर, आरोपित पाइलट पहारी भने उडानको समयमा भएका सामान्य मनमुटावलाई दुर्व्यवहार भन्दै उजुरी दिएको दाबी गर्छन् । ‘मैले दुर्व्यवहार गरेको भए निगमले मलाई कारबाही किन गरेन ? कसैलाई ह्यारेसमेन्टको आरोप लगाउनुभन्दा पहिले ह्यारेसमेन्ट भनेको के हो भनेर भन्नुप¥यो नि । काम गर्न नजान्ने क्याबिन क्रुलाई गाली गर्दा वा कहिलेकाहीँ ठूलो स्वर गर्दा दुर्व्यवहारको आरोप लगाएका हुन्,’ उनले भने । साभार नयाँ पत्रिकाबाट

प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्