सुत्केरीको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घेराउ

काठमाडौं, वैशाख २९ । सुत्केरीको मृत्यु भएपछि आफन्तले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घेराउ गरेका छन् ।
जिल्लाको घोराही उपमहानगरपालिका–८ सौरीकी २८ वर्षिया मधु बुढाथोकी केसीको बिहीवार राति प्रतिष्ठानमा मृत्यु भएको थियो । मृतकका श्रीमान शेरबहादुर केसीले बच्चा जन्मेपछि सालनाल निकाल्ने क्रममा सुत्केरीमा मृत्यु भएको बताएका छन् ।
मृतकका परिवारले घटनाको अनुसन्धान हुनुपर्ने, क्षतिपूर्ति वापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले व्यहोर्नु पर्ने माग राख्दै आन्दोलन उत्रिएका छन् ।
प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार