नक्कली शरणार्थी प्रकरण : देशभर दबाबमुलक कार्यक्रम
काठमाडौं, वैशाख ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै देशका विभिन्न स्थानमा दबाबमुलक कार्यक्रम हुन थालेका छन् । दोषीलाई राजनीतिक संरक्षण नदिन र कारबाही गर्न माग गर्दै नागरिकस्तरबाट दबाबमुलक कार्यक्रम हुन थालेका हुन् ।
यस्ता दबाबमुलक कार्यक्रममा नागरिकहरु स्वस्फूर्त रुपमा सहभागी हुनेक्रम बढ्न थालेको छ । राजधानी काठमाडौंसहित देशका प्रमुख शहरहरुमा दबाबमुलक कार्यक्रम भैरहेका छन् । प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिनका लागि नागरिक स्तरबाट दबाब सृजना गर्ने कार्य भइरहेको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्ने गिरोहलाई संरक्षण गर्न दलका नेतृत्व नै लागेको आरोप नागरिकले गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा अहिलेसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परेका छन् ।
खाँणसहित अहिलेसम्ममा पक्राउ पर्नेमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई छन् ।
पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा नीरजसहित नौ जना फरार छन् । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र पूर्व गृहसचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले निगरानीमा राखेको छ ।
प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार