डोटीमा पशु चौपायामा ‘लम्पी स्किन’ रोग फैलिँदै
डोटी, वैशाख ३० । डोटीमा पशु चौपायामा ‘लम्पी स्किन’ रोग फैलिँदै गएको छ । गाई÷भैँसी लगायत पशु चौपायामा लम्पी स्किनको प्रकोप फैलिन थालेपछि स्थानीय चिन्तित भएका छन् ।
लम्पी स्किन रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खानेकुरा नखाने र दूध कम दिने लगायतका लक्ष्यण देखा पर्छन् । स्थानीयका अनुसार नाक र मुखबाट तरल पदार्थ बग्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरु अन्त्यमा मर्ने गरेका पाइएको छ । छालामा गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्ष्यण हो ।
क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने गरिएको भए पनि नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।
सुदूपश्चिमका पहाडी जिल्लाका सबै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परिसकेको भए पनि न्यूनीकरणमा सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप छ ।
प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार