सिंहदरबार वैद्यखानाका कर्मचारी तीन महिनादेखि तलबविहीन


 


काठमाडौं, वैशाख ३१ । सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारी तीन महिनादेखि तलबविहीन बनेका छन् । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको संस्थाका कर्मचारीले फागुनदेखि तलब पाएका छैनन् ।

आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन्। तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ। समितिका कर्मचारी तीन महिनादेखि तलब नपाएपछि दिनभर कार्यालय आउँछन् र बेलुकी निराश भएर घर फर्कने गरेका छन्।

निमित्त कार्यकारी निर्देशक रामदेव यादव एक महिनादेखि कार्यकक्षमा नबस्दा कार्यालयमा अन्य समस्या पनि आएको कर्मचारी बताउँछन्। तीन महिनादेखि तलब नपाउँदा घरखर्च चलाउन मुस्किल भएको समितिका कविराज वैद्यका रुपमा कार्यरत आदित्य ठाकुरले बताए । समितिमा लामो समयदेखि कार्यालय प्रमुखको विवाद हुँदै आएको छ।

मन्त्रालयका सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाइँले वैद्यखानाका विषयमा बेवास्ता गर्दा संस्थामा धेरै समस्या आउन थालेको बताइएको छ। लामो समयदेखि समितिका कर्मचारीले पनि गठन आदेश बमोजिम ११औँ तहको कार्यकारी निर्देशक नियुक्ति गर्न माग गर्दै आएका छन्। निमित्त दिनेभए समितिकै वरिष्ठ कर्मचारीलाई दिनुपर्ने अधिकांश कर्मचारीको माग छ।

समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि वैद्यखानामा विवाद हुँदै आएको छ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्